सिडी साह
जनकपुरधाम, कात्तिक २९ गते ।
चुनावमा कुनै पनि किसिमका गठबन्धन वा तालमेल साझा र प्रस्ट वैचारिक आधारमा हुन्छ । पाँचदलीय गठबन्धनले यतिबेला प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्न राजनीतिक दलहरूबीच गठबन्धन भएको बताइरहेको छ । तर, गठबन्धनमा आबद्ध दलहरूबीच दलीय सिद्धान्त, विचार र कार्यनीतिक विषयमा धेरै भिन्नता छन् । शासकीय स्वरूप र संरचनाजस्ता देशका महत्वपूर्ण राजनीतिक सबालहरूमा अत्यन्त विपरीत र विरोधाभाषी दृष्टिकोण छन् । समाजवाद भने देशका प्रायः दलका राजनीतिक अभिष्टभित्र पर्छ । जसको अनुमोदन मौजुदा संविधानले नै गरिसकेको छ । गठबन्धनका दलहरूबीच भने समाजवादको लक्ष्यप्राप्तिका बाटाबारे समानता छैन ।
यो समस्या नेकपा एमाले र जसपा नेपालबीचको सम्बन्धमा छँदैछैन भन्ने होइन । केही वैचारिक र कार्यनीतिक कुरामा मतभेद र केहीमा मतैक्य यहाँ पनि होलान् । तर, अहिले यी दुई पार्टीबीचको सम्बन्धलाई गठबन्धनभन्दा तालमेल भनेर परिभाषित गरिएको छ । अर्थात् जसपा नेपालसहितको तत्कालीन पाँचदलीय गठबन्धनका दलहरूले मेरै गोरुको बाह्र टक्का भनेर जसपा नेपालको मताधार क्षेत्र नै संकुचित गर्नेगरी सिट बाँडफाँड गर्ने दुष्प्रयास गर्दाको उपज हो एमाले–जसपा तालमेल । सजिलो भाषामा बुझ्नुपर्दा संघीय वा प्रादेशिक विधायिकामा पुग्न मतको लेनदेन । यो तालमेलको भविष्य भने दुवै राजनीतिक दलबीचको रणनीतिक वा कार्यक्रमिक साझेदारीमा नै निर्भर हुनेछ । यहाँ अवसरवादका लागि ठाउँ भने कमैमात्र छ । तर, पाँचदलीय गठबन्धनको सीधा उद्देश्य सत्तासाझेदारीका लागि लगनगाँठो कस्नु हो । जहाँ सत्ताको नेतृत्व वा अनुपातमा थोरैमात्र विग्रह भयो भने उत्पात हुने निश्चित छ ।
माथिको पृष्ठभूमि मतदान हुने मापदण्डभित्र नपर्न सक्छ । अर्थात् गाउँघरका सोझा जनताले ती टाउका दुखाउने विषयमा नघोत्लिन सक्छन् । मधेसका जिल्लामा मतदान हुने आधारमा सामान्यतया जातभात पनि छ । रक्सीपानी र रुपैयाँपैसाको चलखेल पनि कारण हुन् । चुनाव अवधिभरि उम्मेदवारहरूले एकअर्कालाई उछिन्नेगरी यी कुरामा क्रियाशील रहन्छन् ।
अहिले सिरहा निर्वाचन क्षेत्र नम्बर २ को अवस्था भने पछिल्ला चुनावहरूमा हुने कामभन्दा अलिक फरक छ । यहाँका जनता विकासका बारेमा प्रश्न गर्छन् र तिनका उत्तर आफ्ना उम्मेदवारबाट लिन खोजेका छन् । बहुसँख्यक निर्वाचन क्षेत्रझैं यहाँ पनि देशमा विद्यमान दुवै गठबन्धनका उम्मेदवार छन् । पाँचदलीय गठबन्धनबाट काँग्रेसकी नेता चित्रलेखा यादव उम्मेदवार छन् भने नेकपा एमाले–जसपा नेपाल तालमेलबाट जसपाका नेता राजकिशोर यादव । दुवैका लागि चुनौती भनेकै विकासका मुद्दामा जनतालाई विश्वासमा लिने कुरो हो । जसको प्रारम्भिक लाभ भने राजकिशोरलाई भइरहेको छ ।
राजकिशोर यसअघि जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेता हुन् । चित्रलेखा पनि गत २३ वर्षयता कुनै न कुनै रूपमा राजनीतिक सत्तामा बसेकै छिन् । अर्थात् क्षेत्रविकासका दृष्टिले दुवैसँग प्रश्न छन् । तर यहाँनेर नयाँ क्षेत्र भएकाले राजकिशोरसँग जनअपेक्षा छन् भने चित्रलेखासँग हिसाबकिताब दिने कठिनाइ ।
अहिले झन्डै अढाइ दशकको राजनीतिक सत्तामा बसिरहँदा चित्रलेखाले केके गरिन् भने राजकिशोरनिकटका नेताकार्यकर्ताका केही प्रश्नमा एउटा जिज्ञासा हुन्छ नै । यस प्रश्नमा धेरैवटा काम देखाउने चित्रलेखाका समर्थकसँग ठाउँ छैन । अर्थात् राजकिशोरका लागि क्षेत्रका प्रतिनिधिप्रति जनताका मनमा भएका आक्रोश, असन्तुष्टि र विद्रोह एउटा ठूलो सहुलियत बन्दै गएको छ ।
केही दिनअघि मात्र निर्वाचन क्षेत्र नम्बर २ का कुनाकाप्चा चहारिरहँदा यसअघि क्षेत्रविकासका लागि संघीय संसद्मा आवाज नघन्केका, यस क्षेत्रबाट संघीय संसद्मा प्रतिनिधित्व गर्नेहरूले विकास बजेट विनियोजन गराउन नसकेका, सामान्य जनताका पहुँचबाट टाढा भएका जस्ता गुनासा प्रायः धेरैले गरे । राजकिशोरले भने जनताका कुरा सुन्न, तिनका चाहना पुरा गर्नका लागि जिउज्यानले लाग्ने अनि जनतासँग मेलजोल गरिरहने नेताका छवि बनाएका छन् जिल्लामा । त्यसको फाइदा राजकिशोरले अहिले पाइरहेका छन् ।
यस क्षेत्रको एउटा प्रादेशिक भूगोलबाट विजयकुमार यादव प्रदेशसभा उम्मेदवार छन् । विजय यसअघि प्रदेश सरकारमा अर्थमन्त्री भए, कार्यकालको अन्त्यतिर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् । क्षेत्रमा सडक, पुलपुलेसा, सिँचाइ, पोखरी सौन्दर्यीकरण आदि क्षेत्रमा उल्लेख्य बजेट ल्याए । जसले गर्दा अहिले थोरै भए पनि क्षेत्रको तस्बिर बदलिएको छ । यसले गर्दा पनि राजकिशोरको उम्मेदवारीमा बल पुगेको छ ।
