सिरहा, ४ मंसिर ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सीमावर्ती क्षेत्र सुरक्षाका दृष्टिकोणले अत्यन्त संवेदनशील भएकाले यसक्षेत्रमा राज्यको सक्रिय उपस्थिति एवम् गम्भीर निगरानी आवश्यक भएको बताएका छन् ।
शनिबार सिरहाको माडरमा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री साहले संगठित अपराध, लागूऔषधको ओसारपसार, मानव बेचविखन तथा ओसारपसार र राजस्व छलीजस्ता अपराध सीमावर्ती क्षेत्रमा रहेकाले तिनलाई नियन्त्रण गर्न सीमावर्ती प्रहरी एकाइलाई साधनस्रोत सम्पन्न बनाउन देशका तीनवटै तहका सरकारहरू प्रतिबद्ध हुनुपर्ने बताए ।
माडरस्थित इलाका प्रहरी कार्यालय निर्माणमा प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले तीन करोड १६ लाख पाँच सय ८० रुपैयाँ दिएको थियो ।
उनले सीमाक्षेत्रका प्रहरी साधनस्रोत सम्पन्न भए सीमापार अपराध तथा गैरकानूनी गतिविधिका बारेमा सूचना संकलन र नियन्त्रणमा उल्लेख्य प्रगति हुने उल्लेख गरे ।
शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा सघाउन प्रदेश सरकारले नेपाल प्रहरीलाई पूर्वाृधार, उपकरण, प्रविधिलगायतमा सहयोग गर्दै आएको चर्चा गर्दै मन्त्री साहले माडरस्थित इलाका प्रहरी कार्यालयको पर्खाललगायत पूर्वाधार विकासमा प्रदेश सरकारले सघाउने वचन दिए ।
इलाका प्रहरी कार्यालय उद्घाटन गर्नृ पुगेका मन्त्री साहलाई सिरहाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए ।
