प्रमुख प्रशाकीय अधिकृतको सक्रिय राजनीतिक अल्झोमा नगरपालिका
जनकपुरधाम, १५ मंसिर ।
नगरप्रमुखको भूमिकालाई अवमूल्यन र संकुचित बनाउँदै उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकारी एवम् सुविधासम्पन्न बनाउने धनुषा जिल्लाको हँसपुर नगरपालिका कार्यपालिका बैठकका निर्णय कार्यान्वयन नगर्न उच्च अदालत जनकपुरले रोक लगाएको छ ।
नगरप्रमुख रामज्ञान मण्डल संघीय राजधानी काठमाडौं गएका बेला प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीको पहलमा बसेको नगर कार्यपालिका बैठकले उपप्रमुख रेणुदेवी झालाई योजना अनुगमनका लागि चारचक्के गाडी उपलब्ध गराउने र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई अर्को चारचक्के गाडी भाडामा लिने लगायतका निर्णय गरेको थियो ।
उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्माको एकल इजलासले नगरप्रमुख मण्डलको उत्प्रेषणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६(४) (क) (१२) बमोजिम अध्यक्ष वा प्रमुखका काम, कर्तव्य र अधिकारमध्ये सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने कानुनी व्यवस्था भएको कात्तिक ३० देखि मंसिर ६ सम्म कामविशेषले नगरप्रमुख कार्यस्थल बाहिर रहेको र निजले उपप्रमुखलाई कानुनबमोजिम कार्यभार समेत नदिएको प्रथमदृष्टिमा देखिएकाले मंसिर ४ गतेको कार्यपालिका बैठकका निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।
मंसिर ४ को बैठक उपप्रमुख झाको अध्यक्षतामा भएको माइन्युटमा उल्लेख भए पनि शीर्षमा प्रमुख मण्डलको नाउँ उल्लिखित छ ।
मंसिर ४ गते भएको भनिएको बैठकमा १८ सदस्यीय कार्यपालिकाका दसजना पदाधिकारी एवम् सदस्यको उपस्थिति रहेको देखिएको माइन्युटमा त्यससम्बन्धी निर्णय भएको थियो । कार्यपालिका सदस्य रामअशीष महरा मोचीले भने नगरप्रमुख मण्डलको अनुपस्थितिमा भएको बैठकमा आफ्नो हस्ताक्षर भुलचुकले भएकाले सही फिर्ता पाउन नगरप्रमुख समक्ष निवेदन दिएका छन् ।
विभिन्न छटा प्रस्ताव रहेको सो बैठकले नगरपालिकाको आर्थिक प्रशासन शाखालाई कुनै पनि आर्थिक कारोबार बन्द नगरी सम्पूर्ण आर्थिक कारोबार सुरु गर्न गराउन निर्देशन दिएको छ ।
स्थानीय राजनीतिक चलखेलमा परी प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जथाभावी आर्थिक कारोबार गर्न थालेपछि नगरप्रमुख मण्डलले काठमाडौं जानुअघि नगरपालिकाको आर्थिक प्रशासन शाखालाई धरौटी र राजस्वबाहेकका आर्थिक कारोबार नगर्नू भनी लिखित निर्देशन दिएका थिए । तर, आर्थिक कारोबार सुचारु गर्ने बैठकको निर्देशनमा धरौटी र राजस्वसम्बन्धी आर्थिक कारोबार रोक्का नगरिएको उल्लेख छैन ।
नगरप्रमुख मण्डलले पालिकाका जनतालाई भ्रमित गरेर आफूअनुकूलको महोल बनाउन प्रमुख प्रशासकीय अधिकृतले सबै आर्थिक कारोबार बन्द गरिएको हल्लाखल्ला गरिरहेको आरोप लगाए ।
बैठकले हँसपुरस्थित एनएमबी बैंकलाई हँसपुर नगरपालिकालाई नगरपालिकाका सबै खाता सुचारु गरी नगरपालिकाबाट जारी हुने सबै चेक भुक्तानी गर्ने निर्देशन तथा अनुरोध गरेको थियो ।
बैठकले प्रमुख प्रशासकीय अधिकृत अधिकारीको काम सन्तोषजनक भएकाले उनलाई नै हँसपुरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा राख्ने निर्णय समेत गरेको थियो ।
