जनकपुरधाम, २७ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी एसइई उतीर्ण छात्राहरूलाई निःशुल्क प्लस टु पढाउने भएको छ । नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण छात्रालाई प्लस टु निःशुल्क पढाउने भएको हो ।
छात्रालाई प्लस टु निःशुल्क पढाउने हनुमाननगर कंकालिनी नगरपालिका देशकै पहिलो स्थानीय तह हो । ‘यो एउटा ऐतिहासिक र दीर्घकालीक महत्वको निर्णय हो । शिक्षामा छात्राको पहुँच बढाउन यसले ठूलो मद्दत पुग्नेछ,’ शिक्षा अभियन्ता श्याम गिरीले भने ।

शिक्षा र स्वास्थ्य पूर्वाधार विकास तथा गुणस्तर कायम गर्ने कुरामा अब्बल मानिएको हनुमाननगर कंकालिनी नगरपालिकाको यो निर्णयलाई अन्य तहले समेत अनुकरण गर्ने अनुमान गरिएको छ ।
नगरप्रमुख शैलेश साहले एसएलसी वा एसइई उतीर्ण छात्रालाई प्लस टु पढ्न लाग्ने खर्च नगरपालिकाले व्याहोर्ने बताए ।
उनले कक्षा ११ मा भर्ना हुने छात्राको रजिष्ट्रेसन शुल्क, परीक्षा शुल्क र मासिक शुल्क समेत नगरपालिकाले तिरिदिने जानकारी दिए ।
एसइई उतीर्ण गरेपछि माथ्लो कक्षामा भर्ना हुने छात्राहरूको सँख्या कम देखिएकाले छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन छात्रालाई निःशुल्क प्लस टु पढाउने नगरसभाको निर्णय यस वर्षबाट कार्यान्वयनमा ल्याइएको हो ।
यसैगरी दलित छात्र तथा छात्रालाई सिटिइभिटी अन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत नगरपालिकाले व्योहोर्ने पनि नगरप्रमुख साहले बताए ।