अहिलेका


हराइसकेको जनकपुरधामलाई यसरी खोजियो

वावन कुट्टी बहत्तर कुण्डा, फिरे सन्त जन झुण्ड ही झुण्डा

जनकपुरधामको विकास र यहाँका धरोहरहरूको संरक्षण एवम् संवद्र्धनका विषयमा स्थानीय, सरोकारवाला निकाय निदाएकै छन् । प्रदेश २ को

umesh yadav
उमेशकुमार यादव

प्रस्तावित राजधानीको मुहार फेर्न जुटनुपर्ने बेलामा विकासका लागि दृढता र सकारात्मक पहलका लागि अघि कोही पनि सरिरहेका छैनन् । त्यसैले जनकपुरधामका सन्दर्भमा एकपटक घनीभूत चर्चा गर्नैपर्ने हुन्छ ।

वावन कुट्टी बहत्तर कुण्डा

अहिले पूर्णतः लोप भइसकेका छन् । तिनको खोजीनीतिमा राज्यपक्ष र अन्य सरोकारवाला उदासीन छन्

 

जनकपुरधामको भौतिक पहिचानका बारेमा मैथिली भाषामा एक लोकोक्ति छ–‘वावन कुट्टी बहत्तर कुण्डा, फिरे सन्त जन झुण्ड ही झुण्डा’ अर्थात् बाउन्न कुटीले मठमन्दिर ,सन्तहरूका वर्तमान आश्रम ,जातीय पहिचानका आधारमा सञ्चालित छन् भने बहत्तर कुण्डले सरोवर ,पोखरीलाई इंगित गर्दछ । यो लोकोक्ति सर्वसाधारणका जीब्रामा स्थान बनाउन सफल मात्र भएको छैन । त्यस लोकोक्तिका धेरै आधारहरू अझै भौतिक रूपमा अस्तित्वमा छन् । र, जनबोलीमा जनकपुरको पहिचानलाइ अक्षुण्ण रहँदै आएको छ ।

लोकोक्तिमा भनिएको सँखयामध्ये पाँचवटा कुण्ड सरोवर अहिले पूर्णतः लोप भइसकेका छन् । तिनको खोजीनीतिमा राज्यपक्ष र अन्य सरोकारवाला उदासीन छन् ।

पृष्ठभूमि

नेपाल संघीय संरचनामा गई ७ प्रदेशमा विभाजित भएपछि जनकपुरधाम नेपालको प्रदेश नं. २ को अस्थायी राजधानी र धनुषा जिल्लाको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको छ । जनकपुर २०१६ सालमा नगरपालिकाको स्वरूप ग्रहण गरी २०७१ सालमा मङ्सिर १६ गतेदेखि नगरपालिकाबाट उपमहानगरपालिकामा परिणत भएको हो । जनकपुरको औपचारिक नाम पनि फेरिएर जनकपुरधाम भएको छ । जनकपुरधाम महेन्द्रराजमार्गभन्दा २० किलोमिटर दक्षिण र भारतीय सिमानाभन्दा १३ किलोमिटर उत्तरमा पर्दछ । यसको कुल क्षेत्रफल २ दशमलव.६१ वर्ग किलोमिटर रहेको छ ।

कुटीको संख्यामा वृद्धि भएको छ भने कुण्ड, सागर, पोखरीको संख्यामा कमी आएको छ । लोकोक्तिलाई आधार मानेर पर्यटक जनकपुरधाम आउने गरेका छन् । उनीहरू ‘वावन कुट्टी बहत्तर कुण्डा, फिरे सन्त जन झुण्ड ही झुण्डा’ लोकोक्तिका विषयमा जिज्ञासा मात्र राख्दैनन्, भौतिक रूपमै तिनको खोजअनुसन्धान गर्ने गरेका प्रशस्त उदाहरण छन् । विगतमा सन्त–महन्थको अवधारणा चेला– शिष्य परम्परा अहिले पनि जनकपुरधाममा हेर्न सकिन्छ ।

साबिकमा जस्तो वर्तमानमा सधैँ सन्त–महन्थको झुन्ड नदेखिए पनि जनकपुरको सार्वजनिक उत्सव, मेला, पर्व, त्यौहारमा सन्तमहन्तको लस्कर सजिलै भेट्न सकिन्छ । ब्रह्मचर्य पालना गर्ने सन्त–महन्तको संख्यामा कमी आएको छ तर गृहस्थ आश्रमको अवधारणा लिएका जातीय कुटीहरूमा पूजापाठ गर्ने सन्त–महन्थको अहिले पनि कमी छैन । कुटीहरूमा मठमन्दिरका आदर्श, अवधारणा, अतिथिसत्कार, भगवानरूपी मूर्तिको सेवाटहल, अराधना, आरती र भोगराग दर्शन पुजारीको दैनिक कर्तव्यअन्तर्गत पर्दछ ।

यी पवित्र सरोवरहरूमा स्नान गर्नाले विभिन्न किसिमका पापबाट मुक्ति हुने, आरोग्य प्राप्त हुने एवं इच्छित फल प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । जनकपुर क्षेत्रभित्र रहेका प्राचीन पोखरीहरू कुनै न कुनै धार्मिक आस्था र विश्वाससँग जोडिएको बुझिन्छ । जनकपुरधाममा वर्षभरिमा लाग्ने ठूला मेला एवं उत्सवहरूमध्ये विवाह पञ्चमी, रामनवमी, जानकीनवमी, अन्तगृह परिक्रमा, झुलन, गुरु पूर्णिमा लगायत अन्य उत्सवहरूमा आउने तीर्थयात्रीहरू यहाँका पवित्र सरोवरहरूमा स्नान गरेपछि मात्र मन्दिरमा पूजा गर्दछन् ।

प्राचीनकालमा मिथिला राज्यको राजधानी जनकपुर रहेको सम्बन्धमा विभिन्न धर्मग्रन्थ, रामायण, महाभारतलगायत अन्य धर्मका ग्रन्थ, धर्मावलम्बीहरूका यात्रा वृत्तान्तसहित बौद्ध, जैन ग्रन्थहरूमा उल्लेख छन् । नेपालका दुई राष्ट्रिय विभूति राजा जनक र सीताको जन्म एवं कर्मभूमिका रूपमा प्रसिद्ध जनकपुर प्राचीनकालमा पनि हिन्दु धर्मावलम्बीका लागि मात्र होइन अनेक धर्मावलम्बीहरूका लागि उत्तिकै मान्य स्थल रहेको थियो । साधुसन्त, ऋषिमुनिहरूको तपोभूमिका रूपमा रहेको जनकपुरधाममा राजा जनकको दरबारमा शास्त्रार्थ हुने जनश्रुतिहरू अनेकौं ग्रन्थमा भेटिन्छन् ।

जनकपुरधाम राजर्षि जनकको नगरी मिथिलाको राजधानी एवं सीताको जन्मभूमिका रूपमा इतिहासमा प्रख्यात छ । राजा जनकको नाउँबाट नामकरण भएको जनकपुरधाम विश्वका हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल, धार्मिक आस्थाको केन्द्र र पर्यटकका लागि धार्मिक पर्यटन स्थलका रूपमा विश्वप्रसिद्ध छ । त्रेतायुगमा उत्कर्षमा रहेको मिथिला र मिथिलाको राजधानी जनकपुरधामको अस्तित्व द्वापरयुगमा महाभारत युद्धपछि लोप भएको थियो । त्यसको एक युगपछि अर्थात् कलियुगको सोह्रौं शताब्दीमा रामभक्त सन्त श्री चतुर्भुज गिरी र रामानन्दी वैष्णव समुदायका सीताभक्त सुरकिशोर दासको प्रयासबाट जनकपुरधाम पुनः प्रकट भएको मानिन्छ । त्यसपपछि नै जानकी जन्मभूमि जनकपुर पुनः प्रकाशमा आई जनकपुरधाममा विकास निर्माण अभियान अगाडि बढेको हो । यस विकास र निर्माण कार्यमा विभिन्न ठाउँबाट आएका साधुसन्त र पण्डित पुरोहितका साथै श्रद्धालु भक्तजनले आ–आफ्ना ठाउँबाट तन, मन र धन दिएर सहयोग गर्न तत्पर भए ।

जनकपुरधाम क्षेत्र तत्कालीन अवस्थामा मकवानपुर राज्यको अधिनस्थ थियो । जनकपुरका खोजी तथा पहिचान विषयक सूचना मकवानपुरका राजासमक्ष पुगेपछि यस स्थानमा स्थापित मठहरूका लागि राजाद्वारा अनेक अधिकारपत्र प्रदान गरिएका थिए । पञ्चायतकालमा राजाका उत्तराधिकारीहरूद्वारा ती अधिकारपत्रलाई विभिन्न लालमोहरद्वारा थमौटी गरिदिएको देखिन्छ । यस सन्दर्भमा गीर्वाणयुद्ध वीरविक्रम शाहका सन् १८०७ र सन् १८१० एवं सन् १८११ का लालमोहरहरूका साथै सुरेन्द्र विक्रम शाहको सन १८७७ को लालमोहरलाई उल्लेख गर्न सकिन्छ

वैदिक वाङ्मय, पुराण, रामायण, महाभारत आदि ग्रन्थले मिथिलाको अस्तित्वलाई स्वीकार गरिसकेको पाइन्छ । मिथिला देशको नाम निमिको वंशज, ‘मिथि’ को नामबाट रहेको चर्चा विभिन्न पौराणिक ग्रन्थ एवं साहित्यमा गरिएका छन् । पुराणहरुमा विदेहको राजधानी मिथिला भनिए तापनि तत्कालीन राजाहरूले जनक उपाधि धारण गरेबाट नगरको नाम जनकपुर भएको एवं प्राचीन इतिहासकारहरूको धारणा रहेको बुझिन्छ ।

विदेह राजाहरूको राजधानी मिथिला नगर जनकपुरधाम रहेको कुराको समर्थन अलेकजेन्डर कनिङ्गघमले पनि गरेको पाइन्छ । मिथिलाको सीमाबारे प्रचीन ग्रन्थहरूमा निकै चर्चा भएको पाइन्छ । मिथिलाको अस्तित्व सम्बन्धमा प्रकाशित विभिन्न मतको अध्ययनबाट भन्न सकिन्छ कि पूर्ववैदिक कालमा स्थापित नेपालभन्दा परवर्ती उत्तर वैदिककालमा भएको शास्त्रीय आधारलाई ऐतिहासिक तथ्य मान्नुपर्ने देखिन्छ । यसको भौगोलिक सीमा तत्कालीन विशाल नेपालको गण्डकदेखि कोसीसम्म र उत्तर दक्षिण हिमालयदेखि गंगासम्म सामानान्तर फैलिएको विष्णु पुराण तथा अन्य संस्कृत वाङमयमा उलेख छन् । यस देशमा दरभंगा, मुज्जफरपुरको सम्पूर्ण प्रदेश, चम्पारणको भूभाग भागलपुर तथा मुंगेर जिल्लाको उत्तर भाग र नेपाल राज्यको दक्षिण भाग सम्मलित मिथिलाको मुख्य स्थान जनकपुर नेपाल राज्यअन्तर्गत रहेको उल्लेख छ ।

सन् १८१६ को नेपाल–भारत सुगौली सन्धिपश्चात् प्राचीन मिथिलाका क्षेत्रफलका रूपमा रहेका भूमि भारतमा पर्न गई नेपाल क्षेत्रमा रहेको मिथिला भूमिको आकार खुम्चिन पुगेको हो । तर पनि जानकी मन्दिर, रामजानकी मन्दिरलगायत अनेकौं मठमन्दिर, विभिन्न सरोवर र विभिन्न कुट्टीका कारण जनकपुरधाम धार्मिक स्थलका रूपमा प्रख्यात छन् । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्र जनकनन्दनी श्री जानकीको स्वयंवरको अवसरमा शिवधनुषको एक टुक्रा उछिट्टिएर धनुषाधाममा खस्न पुगेकाले पौराणिक महत्वका आधारमा यस जिल्लाको नाम धनुषा हुन गएको हो ।

(लेखक अधिवक्ता यादव भाषा, साहित्य र संस्कृतिका अनुसन्धानकर्मी हुनुहन्छ । उहाँको यो लेख क्रमशः प्रकाशित गरिँदै जानेछ । यस लेखको प्रतिलिपि अधिकार उहाँसँग नै भएकाले यसको पुरा भाग वा अंश बिनाअनुमति प्रकाशन गर्न निषेध गरिएको छ ।)


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!