जनकपुरधाम, १४ कात्तिक ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले केही वडाध्यक्षहरूद्वारा प्रतिशोध र निषेधको राजनीति भइरहेको आरोप लगाएका छन् ।
उनले एकातिर उपमहानगरपालिकाका काम अवरुद्ध गर्ने र अर्कोतिर विरोधको आतंकी तथा अराजक शैली अपनाउने कार्य जनकपुरधामको संस्कारविपरीत भएको टिपपणी गरे ।
चाडबाडका बेला जनकपुरधाममा थुप्रिएका फोहोरमैला व्यवस्थापन हुन नसकेकोमा आक्रोशित चारजना वडाध्यक्षले नगरप्रमुख साहको बासस्थलअगाडि आइतबार फोहोर थुपारेपछि मेयर साहले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले नगरप्रमुख नीतिनिर्माण र बजेट विनियोजन गर्ने पदाधिकारी भएको र कार्यान्वयनका जिम्मा कार्यपालिकाका सबै सदस्य र विभागीय प्रमुखहरूको भएको हुँदा दोषचाहिँ मेयरमाथि थोपरेर ती वडाध्यक्षहरू उम्किन खोजेको गुनासो गरे ।

‘मेयर भनेको ट्याकटर पठाउने र राजस्व रसिद काट्ने पदाधिकारी होइन नि,’ उनले भने,‘वडाध्यक्षहरू आफ्नो दायित्व निर्वहन नगर्ने अनि कुनचाहिँ ठाउँबाट नियन्त्रित भएर दोषारोपण र विघ्नको राजनीति गर्ने ?’
वडाध्यक्षहरूले डर, धाक र त्रास देखाएर उपमहानगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई टिक्न नदिएका दाबी गर्दै मेयर साहले आफू प्रमुख प्रशासकीय अधिकृत लिन काठमाडौंमा मन्त्रीसँग भेट्न आएको बताए ।
मेयर साह आज संघीय मामिला तथा प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठसँग काठमाडौंमा भेटघाट गरेको तस्बिर सार्वजनिक भएको छ । उनले प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह र वनमन्त्री रामनरेश रायसँगै मन्त्री श्रेष्ठलाई भेटेका हुन् ।
मेयर साहले वडाध्यक्ष जानकीराम साहसँग नगर र वडास्तरीय योजनाका लागि करिब डेढ करोड रुपैयाँ रहेको र अर्का वडाध्यक्ष सुदर्शन सिँहसँग सोही शीर्षकमा करिब दुई करोड रुपैयाँ रहेको तर प्रमुख प्रशासकीय अधिकृत नहुँदा खर्च गर्न नसकिएको बारे उनीहरूलाई नै प्रश्न गर्न सुझाए ।
उपमहानगरका सफाइकर्मीहरू सरसफाइका काममा रातदिन लागिपरेको उनको जिकिर छ ।
‘म प्रशासकीय अधिकृत लिएर आउँछु, रोकिएका सबै काम पूरा हुनेछन्,’ उनले भने ।
