गरुडा (रौतहट), ३ मंसिर ।
रौतहटको कटहरियास्थित सवारीसाधन मर्मत केन्द्रमा हावा भर्ने ट्याङ्क विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक महिला घाइते भएकी छिन् ।
कटहरिया नगरपालिका वडा नं ५ को बहादुरपुर टोलमा रहेको मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की विष्फोटमा समसुल मियाँको मृत्यु भएको छ भने जैसी देवी यादव घाइते भएकी छिन् ।
मृतक समसुल ग्यारेज सञ्चालक हुन् । प्रत्यक्षदर्शीहरूका अनुसार समसुलले क्षमताभन्दा बढी हावा ट्याङ्कीमा भरेपछि विष्फोट भएको थियो ।
ट्याङ्कीछेउमै रहेका समसुलाई विष्फोटका कारण टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।
विष्फोटक्रममा ट्याङ्कीको फलामका टुक्रा दाहिने हातमा लागेर घाइते भएकी यादवको उपचार भइरहेको डिएसपी भण्डारीले बताए ।
विष्फोटले गर्दा ठूलो आवाज आएको र ट्याङ्कीका टुक्रा टाढासम्म छरिएका थिए ।
