अहिलेका


हेल्लो सिएम ! सिएम एप खोई ?

जनकपुरधाम, असोज ८ ।

प्रदेश २ को सरकारको निकै महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रम मानिएको ‘बेटी पढाउ, बेटी बचाउ’ को चर्चा र लोकप्रियता चुलिए पनि यसका पूरक संरचना तथा व्यवस्थाहरू भताभुंग हुँदै गएका छन् ।

छोरीचेलीको सुरक्षासँग जोडिएको एप ‘हेल्लो सिएम’ प्लेस्टोरबाट नै हराएको छ । प्रदेशमा छोरीबुहारीमाथि हुने दुव्र्यवहार र हिँसालगायतका जघन्य घटनासम्म रोक्नका लागि सशक्त सुरक्षा सूचना प्रणाली स्थापना गर्ने उद्देश्यले केही वर्षअघि हेल्लो सिएम एपको उद्घाटन गरिएको थियो । उद्घाटनलगत्तै विभिन्न प्रणालीसँग अन्तर्सम्बन्ध जोड्नुपर्ने तथा अझै परिस्कृत रूपमा एप नियमित सञ्चालनमा ल्याउन भनिए पनि अहिलेसम्म एप प्रयोगमा आएको छैन ।

प्ले स्टोरबाट गायब भएका हेल्लो सिएम एपको अवस्थाबारे जानकारी दिन मुख्यमन्त्री कार्यालयका कुनै पनि अधिकारी तयार भएनन् । महिला हिंसा न्यूनीकरणमा सघाउ पुग्ने त्यस एपको प्रयोग भएका भए शान्तिसुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई समेत मद्दत पुग्ने अपेक्षा गरिएको थियो ।

तीन वर्षअघि तामझामका साथ हेल्लो सिएम एपको उद्घाटन गरिँदैे । तस्बिर : फाइल

तीन वर्षअघि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए ।

हिँसामा परेका बेला मोबाइल फोनलाई ३ पटकसम्म चलाएमा नजिकको प्रहरी कार्यालयमा आकस्मिक कल पुग्ने र पीडितको लोकेसनसमेत प्रहरीले थाहा पाउने गरी हेल्लो सिएम एपले काम गर्ने निर्माता इन्जिनियर आदित्य राजले बताएका थिए । सो एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गरेर कम्तीमा तीनपटक चलाएमा स्वतः काम गर्ने पनि बताइएको थियो ।

इन्जिनियर आदित्य राजले प्रदेश सरकारले हेल्लो सिएम एप निर्माण गराए पनि सो एपलाई सञ्चालनमा नल्याउँदा प्रयोगविहीन बनेको गुनासो गरे ।

सहरका विभिन्न संवेदनशील ठाउँमा राखिएका सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनका लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छ । जसअनुसार महिला हिंसा गर्नेहरूलाई सो एप र सिसिटिभी क्यामेराका माध्यमबाट पक्राउ गर्न सहज हुने अनुमान गरिएको थियो ।

एप गुगलको प्लेस्टोरबाट नै गायब भइसक्दा पनि मुख्यमन्त्रीले खोजीनीति नगर्नु र एउप सक्रिय बनाई सञ्चालनमा ल्याउन पहल नगर्नुले प्रदेश सरकार संवेदनहीन रहेको आरोप मानवअधिकारकर्मीहरूको छ ।

मानवअधिकारकर्मी वीरेन्द्र कर्णले महिला हिंसा न्यूनीकरणका लागि बनाइएको एप नै गायब हुनु दुःखद रहेको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!