प्रदेशसभा २ का सदस्य कौशलकुमार यादव अबको केही समयभित्र ५० कट्दैछन् । २०६३ र २०६४ का मधेस आन्दोलनमा जनकपुरधामको नेतृत्व सम्हालेका कौशल २०६४ चैतमा सम्पन्न पहिलो संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर ५ बाट काँग्रेस उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै सभासद् बने ।
दोस्रो संविधानसभासम्म आइपुग्दा भने उनी शरत्सिँह भण्डारी नेतृत्वको रामसपाबाट महोत्तरीमा पराजित भए । त्यसपछि पुरानो घर अर्थात् उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट रूपान्तरित भएर बनेको संघीय समाजवादी पार्टीमा फर्केका कौशलको फेरि एकपटक भाग्योदय भयो । उनी २०७४ मा सम्पन्न आम निर्वाचनमा महोत्तरीको क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रदेशसभा सदस्य चुनिए ।
मधेस आन्दोलनबाटै जोड्दा कौशलको सक्रिय राजनीतिक जीवन सुरु भएको डेढ दशक नाघिसक्यो । काँग्रेसका समर्थक र नेता भण्डारीका राजनीतिक सहयोगीका रूपमा काम गरेको अवधि थप्दा त तीन दशक नै ।
झट्ट हेर्दा सुन्दर, आकर्षक अग्लो कायाका कौशल प्रखर र आत्मविश्वासी नेता हुन् । सुखमा नमात्तिने र दुःखमा नआत्तिने । दुईपटक दुई तहका सांसद भएका उनीसँग सुखसयलका साथ जिन्दगी धान्ने साधनस्रोत पनि छन् । तर, उनी एक्ला छन् । अर्थात् अविवाहित ।
जीवनको पाँच दशक पुगिसक्दा पनि कौशल किन अविवाहित रहे । धेरैले लख काट्छन्,‘मायापिरतीमा धोखा पाएर होला ।’ तर सत्य भने यो होइन । सानैदेखि राजनीतिमा चाख राखेका कौशलसँग बिहाका बारेमा कुरा गर्ने फुर्सद नै भएन । बुहारीलाई घर भित्र्याउने र नातिनातिना खेलाउने रहर पुरा नहुँदै नेता कौशलका बाआमा बिते । सोमबार बिहान चियागफमा उनले भने, ‘बाआमाले सधैँ बिहा गर् भन्नुहुन्थयो । मचाहिँ समय आएपछि गरौंला नि भन्ने उत्तर फर्काउँथें । उहाँहरूको जीवनकालमा त्यो समय कहिल्यै आएन ।’
झट्ट हेर्दा सुन्दर, आकर्षक अग्लो कायाका कौशल प्रखर र आत्मविश्वासी नेता हुन् । सुखमा नमात्तिने र दुःखमा नआत्तिने । दुईपटक दुई तहका सांसद भएका उनीसँग सुखसयलका साथ जिन्दगी धान्ने साधनस्रोत पनि छन् । तर, उनी एक्ला छन् । अर्थात् अविवाहित ।
कौशल संविधानसभा सदस्य हुँदा ललितपुरको भैंसेपाटीमा डेरा लिएका थिए । जहाँ उनको बसाइ सहकर्मी र पार्टीका नेताकार्यकर्ताहरू सँगै हुन्थ्यो । दिनभर व्यस्त राजनीतिक कार्यक्रम अनि रातपरेपछि एक्लोपनको अनुभूति । तर पनि उनले बिहा गर्ने सोच बनाएनन् ।
बिहा गरेपछि कतै आफ्नो सार्वजनिक राजनीतिक जीवन प्रभावित होला कि भन्ने पीरले उनलाई सधैँ सताइरहन्थ्यो । त्यसैले उनले दाजुभाउजु र दिदीबैनीलाई सीधा उत्तर फर्काउँथे, ‘बिहा त गर्छु तर समय आएपछि ।’
‘साथीसंगातीहरूले बेहुला कहिले बन्ने भन्ने प्रश्न गरेर कहिले दिक्क लगाउँथ्यो त कहिले ठट्टा गथ्र्यो,’ कौशलले भने, ‘अब त धेरैले यो प्रश्न गर्न पनि छाडिसके । सायद् जतिसुकै भने पनि कौशलले बिहा गर्दैनन् भनेर होला ।’
कौशलको गाउँ महोत्तरीको सोनमा गाउँपालिकाको खयरबन्नीमा छ । अहिले उनी गृहगाउँ समेत भएको क्षेत्रबाट प्रदेशसभा सदस्य छन् । गाउँबाट उनको बसाइ प्रादेशिक राजधानी जनकपुरधाम र संघीय राजधानी काठमाडौंसम्म पसारियो । तर, बिहा गर्ने साइत भने साँघुरिँदै गयो ।
अर्काका ससाना लालाबाला हेरेर आफ्नो पनि बालबच्चा भइदिए भए बिहानबेलुका लडीबुडी गर्थे भन्ने लालसा उनको मनमा पनि छ । उनले सुनाए, ‘अबचाहिँ बालबच्चासँग खेल्नेरमाउने इच्छा जागेर आउँछ ।’
बिहाका लागि थुप्रै प्रस्ताव आउँदा पनि दाम्पत्य जीवनमा बाँधिन मन नबनाएका कौशललाई भने अचेल बिहा गर्नैपर्ने बोध भएको छ ।
बिहान घरबाट हिँड्दा र साँझ घर फर्कँदा कौशललाई घरनी भइदिएको भए जीवन सहज हुने लाग्न थालेको छ । उनले भने, ‘कोठा अस्तव्यस्त हुन्छ । लुगाफाटाको ठेकान हुँदैन । अत्यावश्यक सरसमान र कागजपत्र व्यवस्थित रहँदैनन् । अरूभन्दा तनावका बेला आडभरोस दिने नजिकका कोही हुँदैनन् । अनि सहधर्मिनीको महत्व लाग्छ ।’
अब के गर्ने भन्ने प्रशोधक डटकमको उत्तरमा उनले भने, ‘केही राजनीतिक समस्या छन्, तिनलाई निपटारा गर्छु । अनि गर्ने बिहा ।’
जनता समाजवादी पार्टी नेपालका नेता कौशल पार्टीको सुज अभियानका लागि गृहक्षेत्रमा गइरहँदा उनले सुनाए, ‘अझै केही समय क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ ।’
