अहिलेका


एमाले अध्यक्ष ओलीसंग नेता प्रभु साहको अडान कायमै

जनकपुरधाम, २४ असोज ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समक्ष नेता प्रभु साहले पुरानै अडान दोहोर्याएपछि दूरी बढ्दै गएको छ ।

८ बुँदे माग सहितको पत्र अध्यक्ष ओलीलाई बुझाएका नेता साहले माग सम्बोधन नहुने भएपछि दुई नेता बीचको दूरी बढ्दै गएको हो । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनलाई नेता साह पक्षधरले बहिष्कार गरेको थियो ।

पछिल्लो समय एमाले केन्द्रीय कमिटीको बैठकमा समेत सहभागी हुन छाडेका नेता साहले अध्यक्ष ओलीसँग गोप्य भेटघाट पनि गरे । शुक्रबार बिहान भएको भेटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागी सो बैठकमा समेत कुनै सहमति जुट्न नसक्दा नेता साहको दुरी अध्यक्ष ओलीसंग बढ्दै गएको छ ।

‘पछिल्लो समय असन्तुष्ट रहनुभएका साहजीसँग भेटघाट तथा छलफल भयो ।
उहाँले अध्यक्ष कमरेड ओलीलाई बुझाउँनुभएको ८ बुँदे माग कार्यान्वयनको बारेमा लिखित प्रतिबद्धता खोज्नुभएको छ’ ओली निकट एक नेताले भने, ‘अध्यक्षजी त कार्यान्वयन गर्ने जवाफ दिनुभएको छ, तर उहाँले भनेजस्तै लिखित रुपमा सार्वजनिक गर्न सकिएन ।’

नेता साहको माग पूरा गर्ने बिषयमा अध्यक्ष ओलीले पटकपटक छलफल गर्दै आएका छन् । तर ओली र साहबीच अझै सहमति जुट्न नसकेको एमाले स्रोतको दावी छ । माग सम्बोधन गर्ने बताउँदै आएका अध्यक्ष ओलीले लिखित रुपमै सहमति गर्न नचाहेपछि ओली र साहबीचको दुरी झन्झनै बढ्दै गएको छ ।

आफ्ना माग सम्बोधन नहुने देखेपछि साहले आफू निकटका २५ भन्दा बढी एमाले प्रदेश २ कमिटीका सदस्यबाट सामुहिक राजीनामा गराइसकेका छन् ।

यस्तो छ नेता साहको माग

एमालेभित्र २ जेठ २०७५ मा फर्किनुपर्ने माग उठ्दै गर्दा नेता साहले ३ जेठ पछिको अवस्थाबाट अगाडी बढनुपर्ने माग गरेका छन् ।

‘सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँताएपनि हामीले एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरीटमा कार्य सञ्चालन गर्ने’ साहले बुझाएको पत्रमा उल्लेख छ ।

तत्कालीन नेकपाले अभ्यास गरेको जनताको जनवादलाई अगामी महाधिवेशनमा व्यापक छलफल मार्फत विकास गर्नुपर्ने माग उनको छ । त्यस्तै उनले संविधान संशोधनका माग समेत अगाडि सारे ।

‘वर्तमान संविधानलाई हाम्रो ७ बर्षको अनुभवको आधारमा देखिएका त्रुटीहरु हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडी बढ्ने’ साहले बुझाएको पत्रको बँदा नम्बर ३ मा उल्लेख छ ।

एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियत मिलान गर्नुपर्ने उनले माग गरेका छन् ।
माओवादी केन्द्रको पूर्वपदाधिकारीलाई एमाले पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिटव्यूरो कमिटीमा, पोलिटव्यूरो कमिटीमा रहेकालाई केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यलाई प्रदेश कमिटीमा र प्रदेश कमिटीमा रहेकालाई जिल्ला कमिटीमा समायोजन तथा पार्टीको पदीय वरियताक्रम कायम गर्दा नेकपामा अभ्यास गरेको मर्यादाक्रम र दुबै पार्टीको वैधानिक हैसियत अनुसारको मर्यादाक्रम समेतलाई ख्याल गरी नयाँ वरियताक्रम निर्धारण गर्नुपर्ने उनको माग छ ।

त्यसैगरी पार्टी संगठन जबस तथा अन्य निकायहरु निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्मअनुरुप माओवादी पक्षका नेतालाई सम्मानजनक सहभागी गराउन साहले माग गरेका छन् ।

पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रुपमा लिई पार्टी कमिटीहरुको निर्वाचन सहमतिको आधारमा गर्नुपर्ने र प्रदेश २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्नुका साथै आइटी आमीर्लाई पार्टीकै जनसंगठनको रुपमा स्थापित गर्नुपर्ने माग नेता साहको छ ।
अध्यक्ष ओलीसमक्ष नेता साहले आठ बुँदे माग पेश गरेको दुई साता बित्दासमेत उनले कुनै जवाफ अहिलेसम्म पाएका छैनन् । केन्द्रीय सदस्यसमेत रहेका उनी पछिल्लो समय पार्टीको बैठकमा समेत सहभागी भईरहेका छैनन् । उनी आइटी आर्मी संगठन निर्माण तथा विस्तार गरि आफ्ना गतिविधि विभिन्न जिल्लामा संचालन गर्दै आएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!