जनकपुरधाम, १० कात्तिक ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले तरुण दलको ६८ औं स्थापना दिवसमा शुभकामना दिएका छन् ।
बुधबार जारी शुभकामना सन्देशमा काँग्रेसका शीर्ष नेता निधिले नेपाली काँग्रेसद्वारा निर्दिष्ट राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य पूरा गर्न काँग्रेसप्रति आस्थावान् तरुण शक्ति संगठित र गतिशील बन्ने अपेक्षा गरेका छन् ।
काँग्रेसको भ्रातृसंस्थाका रूपमा तरुण दलको स्थापना २०१० साल कात्तिक १० गते भएको थियो ।
मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण हुने लेखाजोखा गरेर काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले तरुण दलको स्थापना गरेका थिए ।
