जनकपुरधाम, २२ कात्तिक ।
मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापकरुपमा हुँदै छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् भने विभिन्न तलातलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।
अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका मुख्य बजारहरुमा किनमेलका लागि निकै चहलपहल बढेको छ । छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ ।
छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्रीसमेत खरिद गरिन्छ ।
छठपर्व मनाउनका लागि विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।
जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर, अंगराजसर सागर, अग्निकुण्डलगायतका तलाउजस्ता विभिन्न स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिदैँछ । स्थानीय युवा क्लब र समितिको अग्रसरतामा जनकपुरधामका विभिन्न तलाउ, पोखरी तथा सरोबरलाई सिंगार्नमा व्यस्त देखिएका छन् ।
छठ पूजाका लागि जनकपुरधामका व्रतालुहरू सूर्यास्तलाई अघ्र्य दिइ राति पूजा स्थालमै बस्ने गर्छन् भने त्यसको भोलिपल्ट बिहानै घाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउने गर्छन् ।
छठ पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्र लाभ हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
छठ पर्व आज देखि सुरु
यस वर्ष सोमबारबाट छठ पर्व सुरु भएको छ । छठको पहिलो दिन सोमबार नहाय खाय, मंगलबार खरना, बुधबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने बिहिबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्छन् ।
तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ । भने चौथो दिन विहान उदाउँदो सूर्यलाई अघ्र्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाईन्छ । भने प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्यदेव अर्थात दिनानाथलाई चढाइने गरिन्छ । अघ्र्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई निराहार उपवास बस्ने गर्छन् । छठ पर्वमा सूर्य भगवानलाई अघ्र्य दिनका लागि तयार गरिने विभिन्न परिकारहरु नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व पनि भनिन्छ ।
