अहिलेका


जनकपुर काँग्रेसमा मनोजको फड्को, सबै नेताका आशीर्वाद र प्रतिनिधिका साथ

जनकपुरधाम, ५ मंसिर ।
पाँच हजार क्रियाशील सदस्य र २५ पार्टीका वडाअध्यक्षसहित चार सय ५० जनाको विश्वास हासिल गर्दै मनोज साह नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरका सभापति निर्वाचित भएका छन् । उनलाई सभापति पदमा निर्विरोध निर्वाचित गराउन नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू महेन्द्र यादव र रामकृष्ण यादव, प्रदेश २ सभामा पार्टी संसदीय दलका नेता रामसरोज यादव र पार्टीका धनुषा सभापति महेशशंकर गिरी एक ठाउँमा उभिए ।

साह यसअघि पनि तत्कालीन जनकपुर नगरपालिका काँग्रेसका सभापति थिए ।

जनकपुरधाम उपमहानगरपालिका २५ वडामा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र पर्दछन् । जसमा पार्टी उपसभापति निधिको गृहक्षेत्रमा १७, केन्द्रीय सदस्य महेन्द्रको गृहक्षेत्रमा ६ र अर्का केन्द्रीय सदस्यको गृहक्षेत्रमा २ वटा वडा छन् ।

प्रदेश २ सभा संसदीय दलका नेता रामसरोज यादव संविधानसभा निर्वाचनमा तत्कालीन जनकपुर नगरपालिका क्षेत्रको अधिकांश भूभाग रहेको क्षेत्र नम्बर ४ बाट प्रत्याशी भएर विपक्षीसँग झिनो मतका अन्तरले पराजित भएका थिए ।

पार्टीको जनकपुर उपमहानगर सभापतिमा निर्विरोध निर्वाचित साहले सबै नेता, पार्टीका जिल्ला सभापति र क्षेत्रीय प्रतिनिधिका शुभेच्छाले सर्वसम्मत चयन भएको प्रतिक्रिया दिए । उनले सहमति र समन्वय भए जुनसुकै निर्वाचनमा काँग्रेस बलियो अवस्थामा रहने सन्देश पार्टीको १४ औं उपमहानगर अधिवेशनले दिएको उल्लेख गरे ।

आइतबार गोपाल धर्मशालामा भएको पालिकास्तरीय अधिवेशनमा भने सभापतिबाहेकका अन्य पदाधिकारीमा सर्वसम्मत हुन सकेन । निर्धारित सँख्याभन्दा बढी उम्मेदवारी परेका कारण उपसभापति, सचिव र सहसचिव पदमा निर्विरोध हुन नसकेको मतदान अधिकृत अनिल कर्णले बताए । यद्यपि ती पदहरूमा समेत सर्वसम्मत गराउने पार्टी नेताहरूको प्रयास जारी छ ।

पार्टीको उपमहानगर उपसभापतिमा राकेशविक्रम साह, पंकज महतो, विक्रम यादव, दिनेश यादव र नरेश यादवले उम्मेदवारी दिएका छन् । मतदानकै प्रक्रियाबाट भए पनि तीमध्ये दुईजना उपसभापति चुनिनेछन् ।

उपसभापतिका प्रत्याशी राकेशले नेता विमलेन्द्र निधिले सभापतिमा मनोज साहलाई निर्विरोध गराउन भनेपछि आफू उपसभापति पदमा उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।

यसैगरी दुई सचिव पदका लागि लालबाबु मिश्र, निरजकुमार झा ‘गुड्डु’, लवकुमार झा र वीरेन्द्रकुमार झाले उम्मेदवारी दिएका छन् । दुई सहसचिव पदका लागि लक्ष्मीनारायण यादव ‘अम्बुु’, राकेशकुमार पाठक, ज्ञानेश्वरप्रसाद मण्डल, उपेन्द्र यादव, हरिनारायण यादव र दीपककुमार ठाकुरले उम्मेदवारी दिएका छन् ।

पार्टीको उपमहानगर कार्यसमिति सदस्य पदका लागि खुला र समावेशी गरी ५० सदस्यका लागि त्यसभन्दा कम सँख्यामा उम्मेदवारी परेको छ भने कार्यसमिति सदस्यकै लागि प्रत्येक वडाबाट एक महिला र दुई पुरुष हुने गरी ७५ जनामा ७० जनाको मात्र उम्मेदवारी परेकाले कार्यसमिति सदस्य निर्विरोध निर्वाचित हुने निश्चित नै छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!