अहिलेका


विश्व रेबिज दिवस : कुकुरको टोकाइले मर्नबाट यसरी बच्न सकिन्छ

“पहिले पहिले खोप अभाव वा जानकारी नहुँदा मानिस रेबिज लागेर मर्ने गर्थे भन्ने अहिले खोस सर्वसुलभ र धेरै अस्पतालबाट निःशुल्क उपलब्ध हुने भए पनि मानिस मर्न छोडेका छैनन्”

 

डा. सञ्जीव ठाकुर

२००७ को २८ सेप्टेम्बरबाट सुरु भएको “विश्व रेबिज दिवस“ १५ औं दिवसका रूपमा यस वर्ष “रेबिज : तथ्य बुझौं, त्रसित नहोऔं” भन्ने नाराका साथ विश्वभरि मनाइँदैछ र यस वर्ष रोग, यसको फैलावट र खोपका बारेमा उब्जाएका शंका र गलत धारणालाई चिर्नका लागि नै यो नारा आएको हो ।

यो नारामा तथ्यहरू भन्नाले, रोगबारे जागरूकता बढाउन, रेबिज रोकथाम गर्न, खोप लगाउन र रेबिजका खतराका बारेमा मानिसलाई शिक्षित गर्नका लागि आवश्यक छ भन्ने सन्दर्भ प्रस्ट पार्छ । त्यस्तै त्रसित शब्दले तीन अर्थ राख्दछ ।

पहिलो, यो रेबिजका कारणले हुने सामान्य डर, मानिसहलाई पागल जनावरको सामना गर्दा अनुभव हुने डर र रेबिजद्वारा पीडित समुदायमा बस्ने डरसँग सम्बन्धित छ । दोस्रो अर्थ सीधै डरका लक्षण हुन् जुन पीडा रेबिजसँग संक्रमित हुँदा अनुभव गर्न सकिन्छ । अन्त्यमा, डर ‘नक्कली समाचार’ वा रेबिजका बारेमा रहेका अन्धविश्वास (झारफुकबाट निको हुने, खोपले काम गर्दैन भन्ने, चिर्ने, बेसार दल्ने इत्यादि) का कारणसँग सम्बन्धित छ ।

यो दिवस, यस प्राणघातक रोगबाट बचाउनका लागि सफल खोप बनाउने लुइस पास्चरको पुण्यतिथि सेप्टेम्बर २८ लाई नै रोजिएको थियो । जसको उद्देश्य रोगबारे जनचेतना फैलाउने, रोकथामका उपायका बारेमा चर्चा गर्ने र सरोकारवाला निकायबीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउनु हो ।

यसै क्रममा नेपालले पनी विभिन्न कार्यक्रममार्फत यो दिवस केन्द्रदेखि स्थानीय तहसम्म रेबिजविरुद्ध कुकुर, बिरालोमा खोप लगाई जनचेतनामूलक सन्देशसहित यस वर्ष पनि मनाउँदैछ ।

हरेक वर्ष विश्वमा यो रोगका कारणले लगभग ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । एसियामा मात्रै यो रोगले ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । नेपालमा हरेक वर्ष रेबिजका सय नयाँ बिरामी देखिन्छन् । ९५ प्रतिशत रेबिज नेपालमा बौलाहा कुकुरको टोकाइबाट देखिने गरेको छ ।

नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा र एक चौथाइ जनसँख्या मध्यम जोखिममा रहेका छन् । पहिले पहिले खोपको अभाव वा जानकारीको कमीका मानिस रेबिज लागेर मर्ने गर्थे भन्ने अहिले खोप सर्वसुलभ र धेरै अस्पतालबाट निःशुल्क उपलब्ध हुने भए पनि मानिस मर्न छोडेका छैनन् ।

त्यसका लागि लापरबाही, रोग सर्ने माध्यमका बारेमा पूर्ण जानकारी नहुनु जस्तै बौलाहा कुकुरको र्याल घाउ/मुख /आँखामा पर्दा पनि रोग सर्न सक्छ भन्ने थाहा नहुनु, टोकेकै दिन लगाए मात्र खोपले काम गर्छ नत्र गर्दैन भन्नेजस्ता गलत धारणा हुनु ,रेबिज इमुनोग्लोबिनको प्रयोगबारे जानकारी नहुनु इत्यादि जस्ता प्रमुख कारणले गर्दा यस रोगबाट हुने मृत्युदर घट्नुका साटो बढ्दै गएको छ ।

सन् २०३० सम्म बौलाहा कुकुरको टोकाइबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य पुरा गर्नु फलामको च्युरा चपाउनु हो । यसका लागि विभिन्न सरकारी, गैरसरकारी र निजी संस्थाबीच रेबिज नियन्त्रण तथा रोकथाममा सहकार्य हुनुको विकल्प छैन । यसका लागि यी कामहरू गर्नुपर्ने हुन्छ ।

क) स्थानीय निकायहरूले कुकुरहरुको सँख्या गणणा गरी पहिचान गर्ने ।

ख) कुकुरहरूमा खोप लगाउने ।

ग) कुकुरहरुको सँख्या नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने ।

घ) नयाँनयाँ जातका विदेशी कुकुरभन्दा सामुदायिक कुकुर पाल्न प्रोत्साहन गर्नु पर्दछ ।

ङ) कुकुरहरूलाई टागिंग तथा रजिस्ट्रेसन गरी मात्र पाल्न सकिने कानुनी व्यवस्था ल्याउने र खोप अनिवार्य गराउने ।

च) रेबिजसम्बन्धी जनचेतनामूलक कार्यक्रम नियमित रूपमा चलाउने ।

छ) रेबिजविरुद्धको खोप तथा इम्युनोग्लोबिन सजिलो र सस्तो रूपमा उपलब्ध गराउने ।

रेबिज लागेको कुकुरका लक्षण ः

क) मालिकलाई नटेर्ने ।

ख) अनावश्यक रूपमा भुक्ने ।

ग) जथाभाबी भौंतारिने ।

घ) खाना खान छाड्ने ।

ङ) आवाजमा परिवर्तन हुने ।

च) नचाहिने कुराहरू टोक्ने ।

छ) र्याल काढ्ने ।

ज) बंगरा पुरै बन्द गर्न नसक्ने ।

झ) लडखडाउने ।

यो रोगबाट बच्न के गर्नुपर्दछ (Prevention)

क) जंगली जनावर वा नचिनेको जनावरहरूलाई नचलाउने ।

ख) बच्चाहरूलाई कुकुर्सित खेल्न नदिने वा एक्लै नछाड्ने ।

ग) कुकुरलाई खान खाने बेला, सुतेका बेला, बच्चासित भएका बेला, सम्भोगका बेला, झगडा गरेका बेला र बिरामी कुकुरलाई न जिस्कियाउने ।

घ) खोप नलगाई कुकुर नपाल्ने ।

ङ) बजार लाँदा मुखौटा (मजल) लगाई मात्र लाने ।

च) कुकुरलाई मुख चाट्न नदिने ।

छ) कुकुरले झम्टी हाल्यो र भाग्ने ठाउँ छैन भन्ने शान्त भएर मुढा वा रुख जस्तो उभिने र कुकुरको आँखामा नहेर्ने ।

ज) जंगल /चिडियाखानामा काम गर्ने व्यक्ति वा जनावरको उपचारमा लाग्ने व्यक्तिले Pre exposure vaccine लिने ।

कस्तो अवस्थामा रेबिजको खोप लिने ?

खोप नलगाएका घरपालुवा होस् वा सामुदायिक कुकुर त्यस्तो अवस्थामा जोखिमका श्रेणीअनुसार व्यवस्थापन गर्नु पर्दछ ।

खोप लगाएको कुकुरले टोकेको खण्डमा पनि १० दिन सो कुकुरको निगरानी गर्ने र कुकुरको मृत्यु भएमा जोखिमका श्रेणीअनुसार निम्न पोस्ट एक्सपोजर प्रोफलैकसिस गर्ने ।

जोखिमको श्रेणी सम्पर्कको किसिम खोप/इम्युनोग्लोबिन

प्रथम श्रेणी (जोखिम नभएको )

 

क) जनावरलाई छुँदा वा खुवाउँदा ।

ख) घाउ नभएको छालामा चाट्दा ।

नचाहिने

दोस्रो श्रेणी (जोखिम भएको )

 

कं) रगत नआउने गरी छाला खोस्रिँदा ।(minor scratch))

ख) घाउसफा गर्ने (१५मिनेटसम्म साबुनपानीले धुने र एन्टिसेप्टिक दल्ने र तुरुन्त खोप लगाउने ।

तेस्रो श्रेणी (उच्च जोखिम )

क) एक वा अधिक गहिरो घाउ ।

ख) र्यालको सम्पर्क घाउ वा म्युकस मेम्ब्रेन (आँखा ,मुख ,योनी) मा भएमा ।

ग) जंगली जनावरको टोकाइ ।

घ) चमेरोको प्रत्यक्ष सम्पर्क । (हालसम्म नेपालमा नदेखिएको)

ङ) घाउसफा गर्ने (१५मिने टसम्म साबुनपानीले धुने र एन्टिसेप्टिक दल्ने ।

च) तुरुन्त इम्युनोग्लोबिंन र खोप लगाउने ।

(स्रोत National Guideline Rabies Prophylaxis in Nepal (2019)
घाउमा बेसार, खुर्सानी ,माटोलगायतका अन्य घरेलु उपचार÷झारफुक ,चिरफार गर्नु हँुदैन

रेबिज रोग नियन्त्रण कसरी गर्ने ?

क) सामुदायिक कुकुरहरूको सँख्या नियन्त्रण गरेर ।

ख) मास भ्याक्सिनेसन गरेर ।

ग) रेबिजसम्बन्धी जनचेतना फैलाएर ।

घ) स्वास्थ्यकर्मी र भेटेरिनरी कर्मचारीलाई बेला बेलामा तालिम दिएर।

ङ) प्रयोगशालालाई आधुनिक र सुविधायुक्त बनाएर ।

च) खोप सर्वसुलभ उपलब्ध गराएर।

अन्त्यमा रेबिज प्राणघातक रोग भए तापनि १०० प्रतिशत रोकथाम गर्न सकिने रोग भएकाले यसमा हेलचेक्रयााइँ गर्नुहुँदैन । साथै दुध र मासुबाट हालसम्म यो रोग सरेको कुनै प्रमाण नभएकाले अनावश्यक मनोत्रासमा पनि रहनु हुँदैन ।

कुकुर पनि हामीजस्तै रेबिजको शिकार हुने गर्दछ र रेबिज लागेपछि मर्छ पनि । त्यसैले कुकुरलाई पनि सुरक्षित पार्न नियमित खोप लगाई व्यवस्थित गरी पालौं । उसलाई पनि रेबिजमुक्त राखौं र हामी पनि बचौं ।

(लेखक भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, महोत्तरीका निमित्त प्रमुख हुहुनुन्छ)


One thought on “विश्व रेबिज दिवस : कुकुरको टोकाइले मर्नबाट यसरी बच्न सकिन्छ

  1. धेरै धेरै उपयोगी जानकारी लाग्यो, मानिसहरूले घरेलु उपचार ,झाडफुक जस्ता काम पनि गरेको पढदा धेरै दुःख लाग्यो , बास्तबमा पाल्नेहरूले त भ्याक्सिन लगाएका हुन्छन् तर बाटोमा खुल्ला तथा अनियन्त्रित घुम्ने कुकुर हरु लाई पनि संरक्षण गर्न सके मानब र पशु दुबै सुरक्षित हुनेछन ।🙏🙏

Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!
%d bloggers like this: