अहिलेका


प्रदेश २ का वनमन्त्री रामनरेशको अर्को अनियमितता, निमित्तलाई आर्थिक अधिकार

मन्त्री भन्छन्–‘बजेट परिचालन गर्न नन्दलाललाई निमित्त सचिव’

जनकपुरधाम, २० असोज ।
विधि, प्रक्रिया र अभ्यासविपरीत प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायले मन्त्रालयका वरिष्ठ कर्मचारी नन्दलाल रायलाई मन्त्रालयका कामकाज चलाउन निमित्त सचिवको जिम्मेवारी दिएका छन् ।

मन्त्री रायले असोज १३ गते दिएको पत्रानुसार मन्त्रालयका वन संरक्षण र व्यवस्थापन अधिकृत नन्दलाललाई निमित्त सचिवका रूपमा मन्त्रालयका प्रशासनिक तथा आर्थिक कामकाज सञ्चालन गरिरहेका छन् ।

प्रदेश मन्त्रालयका सचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका सहसचिवको पदस्थापन गर्दै आएको छ ।प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव रहेका डा.रामचन्द्र कँडेल सरुवा भई गत असोज ५ गते नै रमाना लिइसकेका छन् ।

सरुवा भएर जाने सचिवले अर्को सचिव पदस्थापित नहुँदासम्म मन्त्रालयका वरिष्ठ कर्मचारीलाई सामान्य कामकाज हेर्ने निमित्त दिने प्रचलन छ । तर, डा.कँडेलले भने कुनै कर्मचारीलाई निमित्त दिएनन् ।

सचिव नहुँदा मन्त्रालयका वरिष्ठ कर्मचारी स्वतः निमित्त सचिव हुने व्यवस्था छ । तर, नन्दलाललाई प्रशासनिक तथा आर्थिक अधिकारसहितको निमित्त सचिव बनाउनका लागि मन्त्री रायले उनलाई पत्र दिएका हुन् ।

दरबन्दीअनुसार पद रिक्त हुँदा वरिष्ठ कर्मचारीले निमित्त भएर कामकाज गर्ने अभ्यास भए पनि दैनिक प्रशासनिक काममात्र गर्न सक्ने अधिकृतले निमित्त भएर महत्वपूर्ण र दीर्घकालीन प्रभावका काम गर्न थालेको अनौठो अभ्यास प्रदेश २ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा भइरहेको कर्मचारीहरूले बताएका छन् ।

निमित्त सचिव नन्दलालले असोज १४ मा सहायक वन अधिकृतसहित केही वन कर्मचारीहरूको सरुवा गरेका छन् ।

‘मन्त्रिपरिषद्बाट निर्णय नगराई निमित्त सचिवलाई आर्थिक तथा प्रशासनिक अधिकार दिनु विधिसम्मत काम होइन,’ उनले भने, ‘मन्त्रीका तजबिजमा निमित्त सचिवले पूणकालीक काम गर्दा भविष्यमा ती काम अमान्य हुन्छ ।’

मन्त्रालयका कर्मचारीहरूले कर्मचारी सरुवा र अनियमित ढंगले बजेट परिचालन गर्ने कुनियतले नन्दलाललाई सर्वाधिकार दिएर निमित्त सचिव बनाइएको जिकिर गरेका छन् । उनीहरूले पछिल्लोपटक सरुवा गरिएका कर्मचारीहरूका सन्दर्भमा पनि आर्थिक चलखेल भएको टिप्पणी गरे ।

‘मन्त्रीले अधिकारको दुरुपयोग गरेका छन्, अधिकृत नन्दलालले मन्त्रीको पत्र स्वीकार गरेर अवैधानिक काम गर्ने सहमति दिएका छन्,’ मन्त्रालयका एक कर्मचारीले नाउँ नखोल्ने शर्तमा भने, ‘यो विषय दुवैका लागि घाँडो साबित हुने निश्चित छ ।’

मन्त्री राय र निमित्त सचिव नन्दलालले अख्तियारको दुरुपयोग गरेको भन्दै सरुवा भएका कर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुवैविरुद्ध जाहेरी दिने तयारी गरेका छन् ।

मन्त्री रायले भने मन्त्रिपरिषद्बाट निर्णय नभए पनि मुख्यमन्त्री र प्रमुख सचिवका सल्लाहअनुसार नै नन्दलाललाई मन्त्रालयका कामकाज गर्नेगरी निमित्त सचिव बनाइएको दाबी गरे । उनले मन्त्रालय मातहतका छवटा कार्यालमा निमित्त प्रमुखले नै बजेट परिचालन गरिरहेको भन्दै

सचिव नहुँदा मन्त्रालयका काम रोक्न नसकिने भनेर नन्दलाललाई निमित्त सचिव बनाइएको उल्लेख गरे ।

उनले निमित्त सचिव नन्दलाल पोहोर साल प्रदेश वन निर्देशनालयमा टिक्न नसकेर मन्त्रालय आएका कर्मचारी हुन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!