अहिलेका


राजदेवी मन्दिर भित्र प्रवेशमा अझैपनि महिला निषेध


जनकपुरधाम, २१ असोज ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको राम मन्दिरको उत्तरपट्टी अवस्थित राजर्षी जनककी कुलदेवी राजदेवीको मन्दिर छ ।

जनकपुरधामका शक्तिपीठमध्येका प्रमुख मानिने राजदेवी मन्दिरमा अन्य दिन झैँ मन्दिरभित्र प्रवेश गर्न दिइए पनि बडादशैंको घटस्थापना देखी टीकाको अघिल्लो दिनसम्म महिलालाई दर्शन तथा पुजा निषेध गरिने परम्परा यथावतै छ ।

महिलालाई भित्र छिर्न नदिए पनि मन्दिरमा सबैभन्दा बढी भीड महिलाहरूकै हुने गरेको छ ।

उनीहरू घण्टौँ पंगतिमा उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर पुजा र भाकल गर्ने गरेका छन् । धार्मिक आस्थाले गर्दा महिलाहरू परम्परालाई यथावत राखेपनि मन्दिर भित्र छिरेर दर्शन गर्न पाउनुपर्ने भन्दै आवाज उठउन थालेका छन् ।

जनकपुरमा नवरात्राको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अझैपनि कायमै छ ।

सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ भने सोही झ्यालबाट पूजाअर्चना गरेर फर्किने गरिन्छ ।

त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको भनि अझैपनि विश्वास रहेको राम मन्दिरका पुजारी राम गिरी बताउछन् । त्यसैले राजदेवी मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको उनको भनाई छ ।

राम मन्दिर पुजारी गिरीले भने– रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइने परम्परा छ । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई राजदेवी मन्दिर भित्रमा माताको प्रतिमा छोएर पुजाआजा गर्नबाट रोक लगाइएको हो ।
पुजारी गिरीले अघि थप्दै भने– वि.सं. २०२० मा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोकेर बलि चढाएनन् । बलि नचढाउँदा उनलाई अनिष्ट भयो, पछि क्षमापूजा गरी बलि चढाइएको थियो ।

तर महिला अधिकारकर्मीहरुले भने महिलालाई राजदेवी माताको मन्दिर भित्र प्रवेशमा रोक लगाउनुलाई गलत रहेको टिप्पणी गरे ।
अधिवक्ता रेखा झाले राजदेवी माता पनि महिला हुन् र महिलालाई राजदेवी माताको दर्शन गर्न र छोएर पुजाआजा गर्न दिनुपर्ने माग गरिन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!